झगडाको ओखती
एउटा परिवार सानो थियो, बच्चा थिएन, सुखी थिए दुईजनामात्र । विस्तारै
दुवैको मन मुटाव हुन थाल्यो । बुढा बुढीको झगडा परालको आगो नै त हो । तर
त्यो परालको आगोले विस्तारै विरस्तारै अरूतिर पनि डढाउन थाल्यो । दुई मिनेटको झगडा दुई घण्टा हुँदै
विस्तारै दुई दिनसम्म पनि बोलचाल हुन छाड्ने अवस्थामा पुग्यो । पछि त कुनै ठूलो
समस्या आइपरेमामात्र दुइजनाको बोलचाल हुने स्थिति आयो ।
यस प्रकारले झगडा भइरहँदा, दुवै जना दिक्क मान्न
थाले । कारण ठूलो हुँदैनथ्यो, जस्तो कि, श्रीमानले बिहान भनेको कुरा नल्याउँदा
बेलुकी श्रीमती रिसाउने, श्रीमतिले शब्जीमा नुन कम गर्दा श्रीमानले खानै नखाने ।
अब त अति भयो, श्रीमान श्रीमतीको झगडा न हो आफैं मिलाउनु पर्छ भनेर श्रीमानले पहल गरे तर फेरि सानो निहुँमा श्रीमतीले घुर्काए पछि श्रीमान पनि जंघिए । अब आफैं मिलाउन सकिएन भनेर छिमेकी गुहारे । छिमेकीले शुरूमा राम्रै भने पनि विस्तारै एक अर्काबीचमा नुन छर्किने काम मात्र गर्न थाले । अब झगडाले छिमेक, टोल हुँदै पुरै गाउँ नै हल्लाउला जस्तो अवस्था आउन थाल्यो ।
संयोगवश त्यस गाउँमा एकजना लोकप्रीय ज्योतिषी आए । श्रीमानले सोचे
अब यिनले नै समस्या हल गर्दछन् । श्रीमान सुटुक्क ज्योतिषीकोमा गएर बेलीबृतान्त
लगाए । ज्योतिषीले न त बुटी दिए, न त कुनै भविष्य हेरे । अनि सुन्ने बित्तकै भने -
"तपाई श्रीमतीको छेउमा
पर्ने बित्तिकै 'येन' भन्नुहोला, यदि उहाँले पनि 'जेन' भन्नु भयो भने तपाईंको समस्या समाधान हुन्छ । तर एउटा शर्त छ, बुढी रिसाएको थाहा पाउने
बित्तिकै तपाईं चुप लाग्नुहोला । तपाईकी श्रीमतीले ऐना हेरिन भने
सोच्नुहोस् तपाईको समस्या गयो । तर जबसम्म बुढी ऐना हेरिरहनुहुन्छ तबसम्म नबोल्नु
होला ।" ती श्रीमान हेरूम् न त भन्दै गए ।
ज्योतिषीले ती महाशयका श्रीमतीलाई सुटुक्कै डाक्न पठाए । ती ज्योतिषीले
महिला आउने बित्तकै भने - "तपाईंको मा "गाल गर्व योग" रहेछ, अब तपाईंलाई म केही मन्त्र पढिदिन्छु । तपाईं घर जाने बित्तकै तपाईंका श्रीमानले 'येन' भन्नुहुन्छ, तपाईं तत्कालै 'जेन' भन्नुहोला । अनि
अबदेखि बुढाले जे भने पनि नकारात्मक कुरा नबोल्नु होला गएर ऐना हेर्नुहोला, रिस
उठुन्जेल तपाईं आफूलाई ऐनामा हेरिरहनु होला । यदि बुढाले नकारात्मक कुरा गरे भने रिसाउन
पाइन्छ । तर बोलेनन् भने तपाईं ऐना हेर्ने कामलाई निरन्तरता दिनुहोला
।" श्रीमती
केही हुन्छ कि भनी त्यहाँबाट विदा भइन् ।
बेलुकी जब श्रीमान कामबाट लखतरान भएर घर आइपुगे, बोलचाल नभएको
ठ्याक्कै हप्ता दिन पुगेछ सम्झे । श्रीमतीले खाना बनाउने लगायत घरका काममा चाहिं
कन्ज्युस्याइं गर्दिनथिन्, तर खाना बनाएर थाल बजेको आवाजले नै खाना खान बोलाएको
बुझेर श्रीमान गएर खाना खानु पर्थ्यो । श्रीमती भान्साघरमा थिइन् । लाज लाग्यो अघि
पर्न । तर मन बाँधे र श्रीमतीको अगाडि गएर 'येन' भने । श्रीमतीले तत्कालै जवाफ फर्काइन्,
'जेन!'
अब श्रीमान बोल्न सकेनन् । लाज लाग्यो । ज्योतिषीले
भनेको कुरा पुग्यो । नयाँ जिन्दगीको आभाष भयो । बेडरूममा गएर लडे । श्रीमतीले पनि सोही
कुरा सोचिन् । उनलाई पनि नयाँ जीवन पाएको अनुभव भयो । सोच्दा सोच्दै खाना केही डढ्यो । अब
सोचिन् फेरि अर्को लफडा । तर ज्योतिषीमा विश्वास जाग्यो । नजागोस् पनि कसरी जे
भनेको त्यहि पुग्यो । अनि जति रिसाए पनि म रिसाउँदिन भन्ने सोचिन् । र नबोली बस्ने
विचार गरिन् ।
खाना खाने संकेत, एक हप्ता देखिको । थाल बज्यो । श्रीमानले टेलिभिजन अफ गरे । खाना खानको लागि तयारी । मोबाइलमा डाटा पनि अफ गरे ।
खाना खान लाग्दा देखे, श्रीमतीको थालमा डढेको भात
छ । आफ्नोमा राम्रो मात्र छ । ज्योतिषीले काम त गरे । तर माया लाग्यो । अनि थाल
साटे । श्रीमतीले फेरि थाल साटिन् । उनलाई पनि श्रीमानको धेरै माया जाग्यो । फेरि यहि क्रम
दोहोरियो । श्रीमतिले नकार्न खोज्दा खोज्दै एउटा थाल भुंइमा झ-यो ।
अब श्रीमतीलाई रिसको पोकोले घे-यो । बोल्नमात्र लागेकी थिइन्, झल्यास्स ज्योतिषीको कुरा याद आयो । बोलिनन् । ऐना गएर हेर्न थालिन् । बुढाले सोचे ज्योतिषीले भनेको पुग्यो । बोलेनन् । गएर कुकरमा केही चामल हालेर फेरि पकाउन थाले । श्रीमतीले एकछिन चुप लागेपनि केही आवाज आएको सुनेर किचनमा आइन् । हेरिन् बुढाको करामत । खासै घरको काम नगर्ने बुढाले खाना पकाएको देखेर दया लाग्यो । माया पलायो । उनको रिस त उहिल्यै झरिसकेको थियो ।
अब बुढीले ऐना हेर्न छाडेको
थाहा पाएपछि बुढाले बुझे, बुढीको रिस शान्त । अनि विस्तारै बुढीको छेउमा गएर भने
-
"मलाई माफ गर बुढी" ।
बुढाको यो शब्दले श्रीमतीको जिउ नै सिरिङ्ग भएर
आयो । अनि डाँको छाडेर रून थालिन् । श्रीमानलाई श्रीमतीको अत्यन्त
माया लागेर आयो । दुवै एक अर्कामा समेटिए ।
त्यस दिन पछि उनीहरूको जीवनमा कहिले पनि भुकम्प त
आएन तर सुनामी चाहिं अवश्य आयो ........
...
...
...
अब कसरी सुनामी आयो भन्ने कुरा म तपाईंहरूलाई अर्को पल्ट भन्नेछु
।